काठमाडौं, २३ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि काठमाडौमा हुनुहुन्छ ।
१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएा विदेशमन्त्री वाङ पाकिस्तान हुँदै आइतवार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतले स्वागत गर्नुभएको थियो । विदेशमन्त्री वाङ विमानस्थलबाट होटल द्वारिकाजमा जानुभएको थियो ।
नेपाल र चीनबीच आज दिउँसो साढे तीन बजे परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुनेछ । दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । वार्तामा पुराना सम्झौता कार्यान्वयनको समीक्षा र पुनरावलोकन पनि हुने बताइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले आजै साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसलगत्तै विदेशमन्त्री वाङको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नेछ । यस्तै मंगलबार बिहान वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तय भएको छ । मंगलबार अपरान्ह तीन बजे चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्