काठमाडौं, २३ भदौ । काठमाण्डौमा आजदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले पांचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुदै भक्तपुरको सल्लाघारी बिजुली बस चल्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्ण पाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुदै अत्तरखेलसम्म र पाचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीर अस्पताल र जमलमा बिजुली बस चल्ने छ । बसको संख्या र रुट थप्ने तयारी पनि भइरहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ । आज दिउसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी छ ।
सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनुभयो । अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्