काठमाडौं, २३ भदौ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइनेभएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो ।केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर आउनुभएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताउनुभयो ।
“सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ”, उहाँले भन्नुभयो । ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।महाशाखा प्रमुख ढकालले चाँडो नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने बताउनुभयो । “प्रहरी सङ्गठन प्रमुखको चाहनाअनुसार सम्बन्धित निकायसँगको सहकार्यमा छिट्टै उपत्यकामा ट्राफिक बत्ती जडान गर्नेछौँ,” उहाँले भन्नुभयो ।
विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रमलाई महाशाखाले अगाडि सार्ने उहाँको भनाइ थियो । उपत्यकाको ट्राफिक व्यवस्थापनका क्रममा देखिएको पार्किङ अभाव, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति, साना पुराना र बढी धुवाँ फाल्ने सवारी साधनलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर समस्याको समाधान गरिने महाशाखा प्रमुख ढकालले बताउनुभयो ।काठमाडौँ उपत्यकामा हाल दुई हजार १४ किलोमिटर सडकमा झण्डै १० लाख सवारी साधन ओहोरदोहोर गर्दै आइरहेका छन् । एक ट्राफिक प्रहरीले १.५ किलोमिटर सडक तथा ९०० सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्