काठमाडौं, ३० भदौ । सरकारले उत्तर कोरियाली लगानी सञ्चालित व्यवसाय बन्द गर्न निर्देशन जारी दिएको छ ।
उद्योग विभागले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्दै नेपालमा सञ्चालित व्यवसाय बन्द गर्न एक महिने अल्टिमेटम दिएको हो । सरकारले लगानी फिर्ता लैजान दुई पटकसम्म काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका डिसिएम किम जोङसँग मौखिक सम्झौंता गरेको भएपनि व्यवसाय बन्द नभएपछि एक महिनाको समयसीमा दिइएको हो । विभागका अनुसार ९ वटा उत्तर कोरीयाली लगानीका व्यवसायमा संलग्न कामदारहरुको भिषा समेत अक्टोबर ३१ सम्मका लागि मात्रै थपिएको छ । विभागले भदौ तेस्रो साताबाट लागू हुने गरी अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको जनाएको छ ।
विभागले हिमालयन सोजी रेष्टुरेन्ट, होटल रेमिन एण्ड रेष्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङग्याङग रेष्टुरेन्ट एण्ड बार, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसनलाई बन्द गरी लगानी फिर्ताका लागि पत्र पठाइसकेको छ । निरन्तर आणविक परीक्षण गर्नथालेपछि संयुक्त राष्ट्र संघले उत्तर कोरिया विरुद्ध प्रतिबन्ध लगाएको थियो । राष्ट्र संघको यही प्रतिबन्धका आधारमा नेपालले उत्तर कोरियाली नागरिकबाट संचालित प्रतिष्ठानहरु बन्न गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्