जनकपुर, ९ असोज । जनकपुरमा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । विहीवार बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै गस्तिमा रहेको प्रहरीको टोलिले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले फर्निसिङ पसल ताला फोडिरहेको अवस्थामा भेट्टाएको थियो।
प्रहरीको गोली खुट्टामा लागेर एकजना डाका घाइते भएका छन् । ती डाकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा उपमहानगरपालिकाकै गेट अगाडी दिपक बजाज र अमित अग्रवालले सञ्चालन गरिरहेको जानकी फर्निसिंगमा डकैती गरिरहेका चारजना डाका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम–४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह,रौतहटकै वृन्दावन नगरपालिका–१ रमौलीका ३५ वर्षीय गगन पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला वैरगनीया–७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिप्राढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम–४ मा डेरागरी बस्ने ४० वर्षीय मोहम्मद ईलयास राइन रहेको उहाँले बताउनुभयो ।
प्रहरी नायव निरीक्षक संतोष झाको कमाण्डमा गस्तीमा रहेको प्रहरी टोलीले डाकाहरुले सो पसलको ताला फोडिरहेको देख्दा उनीहरुलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना चोरलाई पक्राउ गरेपनि अरु तीन जना कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली चलाएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।
प्रहरीको गोली लागि घाईते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । सिंंहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी खनालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा लाग्ने गोली २ राउण्ड,ताल्चा काट्ने कटर एक थान,सात सय नेपाली रुपैयाँ,ठुलो पेचकस एक थान लगायतका केही अन्य सामानहरु समेत बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्