काठमाडौं १४ असोज । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो ।स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त प्रविधिको टावरमार्फत हावाको रेञ्जबाट २१४ मिटर गोलाइको वरिपरि सुरक्षित राख्न सक्ने क्षमता राख्दछ । त्यसबाट २७० घरधुरीका १३५० जनाका साथै घर पालुवा जनावरसमेत लाभान्वित हुनेछन् । यसका अतिरिक्त त्यहाँस्थित विद्यालय, सरकारी कार्यालय, प्रहरी चौकी, वडा कार्यालय तथा स्वास्थ्यचौकीसमेत सुरक्षित रहने बताइएको छ ।
जमीनमुनि १० फिट गहिरो तथा चार/चार फिट चौडाइको खाडलमा केमिकल राखी बनाइएको उक्त प्रविधिको लागि स्थानीय जनसहभागितासहित रु तीन लाख लगानी भएको जनहितका प्रतिनिधि चिरञ्जीवी कट्टेलले जानकारी दिनुभयो । उक्त प्रविधि ९९ प्रतिशत सफल रहेको दाबी गरिएको छ । चट्याङबाट उक्त वडामा विगतका वर्षमा निकै ठूलो धनजनको क्षति भइसकेको छ ।
भूगर्भविद्का अनुसार सिन्धुपाल्चोक जिल्ला चट्याङ र पहिरोको उच्च जोखिममा पर्दछ ।
प्रतिक्रिया दिनुहोस्