काठमाडौं, १५ असोज । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस देशैभर पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पह“च पुर्याउने उदेश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।
विश्वमा ६० वर्ष उमेर माथिका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । सन २०११ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख बढी जेष्ठ नागरिकहरु छन् । शारिरीकरुपले श्रम गर्न नसक्ने अवस्थाका मानिस नै जेष्ठ हुन् । सन्ततीका लागि जीवनभर हाडाछाला घोटेका पाकाहरु घरपरिवारको हेलाले अपमानित भएर बांच्न विवश छन् । केही पाका बाहेक धेरैको अवस्था निकै दयनीय छ । संविधानले जेष्ठ नागरिकको विषयमा सम्बोधन गरेपनि व्यवहारमा उनीहरुको सामाजिक सुरक्षामा अझै राज्यको दायित्व पुगेको छैन । यद्यपी सामाजिक सुरक्षाका लागि सरकारले खर्च गर्दै आएको छ । घरपरिवारबाट हेलिएका जेष्ठ नागरिक पशुपति आश्रममा बस्दै आएका छन् । साहाराविहिन बनेका जेष्ठ नागरिकका प्रतिनिधि पात्र हुन् पशुपति वृद्धाआश्रमका जेष्ठ नागरिक । कष्टकर जीवन जिउदै आएका पशुपति वृद्धाश्रमका वृद्धवृद्धाहरुको हो यो दृष्य ।
कोही बत्ती काटेर, कोही त्यत्तिकै बसेर दिन कटाईरहेका आश्रमका वृद्धवृद्धाहरुको अनुहारमा बनावटी खुसी छर्लङ्ङै देखिन्थे र भन्दै थिए हामी ठिकै छौं, खुसी नै छौं । परिवारसंगको खुसीको बारेमा कुरा गर्दा यी ज्येष्ठ नागरिकहरु निराश बने । यिनै ज्येष्ठ नागरिकहरुको विगतले वर्तमानलाई सुन्दर बनाएको छ । तर, आज शारीरिकरुपमा अशक्त भएपछि बेसाहारा जस्तै बनेर आश्रममा जीवन गुजारा गरिरहेका छन् । यी वृद्धवृद्धाहरुको मन पल–पल रोईरहन्छ तर, बाहिर हास्नै पर्छ, एक वृद्धाले बताईन् । दश नङ्ग्रा खियाएर आफ्ना सन्तानलाई हुर्काई बढाई गरेपछि आफ्नै घरमा बोझ बनेका यी वृद्ध आमाबाबालाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसले छोएको पाईएन ।
उनीहरुलाई यसको अर्थ पनि थाहा छैन र कतिलाई शब्द पनि । जे दिन्छन्, त्यही खाने हो । बाहिर जान पाईदैन, सकिदैन पनि । अब यहाँ नबसेर पनि के गर्नु ? कहाँ जानु ? उनीहरु दुख पोख्छन् । ज्येष्ठ नागरिकको सम्मान र अधिकारको सुरक्षा गर्न ,बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत विभिन्न निजी संघ, संस्थाहरु पनि लागिपरेका छन् । तर पनि, पछिल्ला दिनमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरु अपहेलित हुने क्रम बढेको छ । जेष्ठ नागरिक परिवारबाट हेलिनु स्वयं परिवारका लागि मात्रै होइन राज्यको लागि पनि सोचनीय विषय हो । तसर्थ, वर्तमानलाई सुुन्दर बनाउन कुनै समय आफ्नो तन, मन र धन दिएका ज्येष्ठ नागरिकहरुको ससम्मान बांच्न पाउने अधिकारको व्यवहारिक कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्