काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउनुभएको छ । नेपाल आइपुगेलगत्तै सी भेटघाटमा व्यस्त हुने कार्यतालिका रहेको छ ।
आजै उहाँले समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्नुहुने छ । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति सीले देउवासँग होटल सोल्टीमा भेट्ने छन् ।
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ । सी उक्त रात्रीभोजमा सहभागि हुनेछन् ।
सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने आइतबार विहान मात्रै भेटवार्ता हुने छ । सीसँग प्रधानमन्त्री ओलीको भेट विमानस्थलमा आज भए पनि प्रतिनिधि मण्डलसहितको औपचारिक भेट भने भोलि मात्रै हुने छ ।
सी र प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने जनाइएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितीमा केही दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि सीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्