काठमाडौं २६ असोज । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङ दुईदिने भ्रमण सकेर उहाँ १ : ३० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई बिदाइ गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीपरिषद्का सदस्यहरुको सहभागिता रहेको थियो ।
राष्ट्रपति सीलाई बिदाइ गर्न सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।
समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डौ आउनुभएको थियो । राष्ट्रपति सीलाई स्वागत गर्न उहाँका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सदस्यहरु पनि विमानस्थल पुग्नुभएको थियो ।
राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।
आइतबार बिहान राष्ट्रपति सी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भयो । भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच १८ ओटा समझदारीपत्र र दुई ओटा ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएको छ ।
समझदारी पत्र आदानप्रदान कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।
हिजो त्रिभुवन विमानस्थलबाट सिधै होटेल साल्टी पुगेका राष्ट्रपति सी त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुग्नुभएको थियो ।
त्यसपछि शितल निवासबाट होटेल सोल्टी फकेर्कका सीले हिजो प्रतिपक्षीदलका नेता एवं पूवप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी राजनीतिक भेटवार्ता शुरु गर्नुभएको थियो ।
त्यसपछि विभिन्न राजनीतिक दलका नेताहरु उपेन्द्र यादव, डा. बाबुरमा भट्टराई, महन्थ ठाकुर लगायतलाई भेट दिएपछि सी उनको सम्मानमा राष्ट्रपति भण्डारीद्धारा आयोजित रात्रीभोजमा सरिक भएका थिए ।
आज सीले सत्तारुढ दल नेकपा सचिवालय सदस्यहरुसँग सामुहिक भेटवार्ता गरेका छन् । त्यसपछि नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग वान टु वान वार्ता गरेका थिए ।
नेकपा नेताहरूसँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। त्यसपछि द्विपक्षीय वार्ता सम्पन्न गरेर राष्ट्रपति सी आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट स्वदेश प्रस्थान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्