काठमाडौँ, २६ असोज । नेपाल र चीनबीच बहुचर्चित काठमाडौँ –केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका क्रममा यस्तो सम्झौता भएको हो । झण्डै एक वर्षअघि चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन गरेको थियो ।
‘नेशनल रेल्वे अथोरिटी’ले गरेको अध्ययनको प्रतिवेदन नेपाल सरकारलाईसमेत बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा दुई देशबीच छलफल भएर सम्भाव्यता अध्ययनका लागि सहमति जुटेको हो ।
सम्भाव्यता अध्ययनपछि मात्रै लगानीको ढाँचाका सम्बन्धमा थप छलफल हुने बताइएको छ । झण्डै ७२ किलोमिटर लामो केरुङ–काठमाडौँ रेलमार्गको लागत ३ खर्ब रुपैयाँ र निर्माणका लागि ८ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । नेपाली पक्षले सीमा पार रेल मार्ग निर्माण चीनले अनुदानमा बनाइदिनु पर्ने अपेक्षा राख्दै आएको छ ।
चिनियाँ राष्ट्रपति सीले पनि रेलमार्ग निर्माणमा सबै प्रकारको सहयोग गर्ने वचन दिनुभएको छ । राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा यो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । त्यो सम्झौतासँगै प्रारम्भिक अधययन अघि बढाइएको थियो । प्रारम्भिक अध्ययन सकेर सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै सीमापार रेलमार्ग निर्माण हुने सम्भावना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्