कार्तिक ४ पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्टले स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गर्नुभएको छ ।
उहाँले आइतबार बिहान नेपालीलाई कुटेका पीडित नेपालीले बताउनुभयो ।नेपालीको दाहिने आँखा वरिपरि निलडाम हुनुका साथै सुनिएको पनि छ। अनुहारका विभिन्न ठाउँमा सानासाना चोट लागेको छ ।
वडा सदस्य विष्टको घरको गारोमा प्लास्टर गरिदिएको ज्यालाको हिसाबसहित आफूले पाउनुपर्ने रकम माग्दा आफूलाई कुटपिट गरेको पीडित नेपालीले बताउनुभयो।विष्टले आफूलाई मुक्का र लात्तीले हानेको नेपालीले आरोप लगाउनुभएको छ । गत माघ महिनामा १२ हजारमा घरको गारोमा प्लाष्टर गर्नका लागि विष्ट र नेपालीबीच सम्झौता अनुसार नेपालीले समयमै काम सम्पन्न गरेको बताउनुभयो ।
तर, ज्यालाको रकम भने आफूले अहिलेसम्म नपाएका कारण ज्याला माग्न जाँदा कुटेको उहाँको भनाइ छ ।आइतबार बिहान हिसाब गर्न बिष्टको घरमा जानेक्रममा नेपाली र विष्टबीच बाटोमा भेट भएको थियो। ‘उहाँले कता हिँड्नुभयो भनेर मलाई सोध्नुभयो। मैले तपाईंको घरमा कामको हिसाब गर्न हिँडेको भनेर जवाफ दिएँ,’ ‘नेपालीले भन्नुभयो सोही क्रममा एक्कासि अपशव्द प्रयोग गर्दै मलाई चिनेको छस्, म को हो, भन्दै मुक्काले र लात्तीले हान्न थाल्नुभयो ।
आफूलाई तल्लो जाति सार्की भन्दै कुटपीट गरेको आरोपसहित नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिनुभएको छ ।यता वडा सदस्य विष्ट आफूले कुटेको स्वीकार गर्नुभएको छ । ‘नेपालीले मलाई पहिला हात हाल्नुभयो’ त्यसपछि मैले त्यसको प्रतिकार गर्दै हानेको हुँ, विष्टले भन्नुभयो । रिसको झोंकमा ४ /५ थप्पड गालामा हानेको हुँ’ उहाँले भन्नु भयो । विष्ट नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्