काठमाडौं, ५ कात्तिक । दुई देशीय व्यापारसम्बन्धी नेपाल–बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंको सोमबार बिहानबाट बैठक सुरु भएको बैठक मंगलबारसम्म चल्ने छ ।
बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ । यस्तै बंगलादेशको तर्फबाट बंगलादेशको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वको सात सदस्यीय टोली सहभागी छ ।
दुई दिने बैठकमा नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकको प्रगति समिक्षा गर्दै नेपाल–बंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल गर्न नेपालले चाहेको छ ।
यस्तै ढाकाकाठमाडौं बस सेवा सञ्चालन, कृषि विभाग, मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको समकक्षी विभागबीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय पनि नेपालको छलफलको एजेण्डा हो ।
नेपालबाट बंगलादेश निर्यात हुने औषधिजन्य वस्तुको भन्सार महशुल लाग्ने–नलाग्ने, दर्ता प्रक्रिया सहजीकरण गर्ने, कृषि र औद्योगिक उत्पादन शून्य भन्सारमा बंगलादेश प्रवेशको माग , नेपाल र बंगलादेशबीच आन्तरिक जलमार्गबाट व्यापार तथा पारवहान सम्भाव्यता, लगानी बृद्धि, पर्यटन प्रवर्द्धन, बिराटनगर तथा भद्रपुरबाट सियादपुर ररंगपुरसँग हवाई सञ्जाल जोड्न सकिने सम्भावनाबारे पनि छलफल हुनेछ । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि बैठकको एजेण्डा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्