काठमाडौं, ११ कात्तिक । नेपालीहरुको महान पर्व तिहार शुरु भएसँगै गाउँघर, शहरबजारमा चहलपहल झिलिमिली रंगीबिरंगी निकै बढेको छ । फूलमालाको किनमेलदेखि विभिन्न परिकारजन्य वस्तको किनमेलमा सर्वसाधारण व्यस्त देखिन्छन् । देउसी भैलो लगायतको पुरानो संस्कृतिको रक्षा गर्दै आ–आफ्नो गच्छे अनुसार उत्साह र उमंगका साथ तिहार मनाइदै छ ।
वर्षदिनमा एकपटक आउने यस तिहार पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइलाई सप्तरंगी टिका र माला लगाईदिएर मनाउने गरिन्छ । त्यसैगरी काग, कुकुरको पूजा गर्नुका साथै लक्ष्मी पुजा र गोबर्धन पूजा समेत गरिन्छ । धनको देवी लक्ष्मीलाई घरमा भित्र्याउँदै भव्यताका साथ घरघरमा दीपावली गरेर मनाइदैछ । परम्परा अनुरुप देउसी भैलो खेलेर रमाइलो गर्ने खुशी साटासाट गरिन्छ । गाउँघर तथा शहरमा छुट्टै खाले चहलपहल ह्रवात्तै बढेको छ । बजारमा सयपत्री, मखमलीको फूल विक्रि तथा किनमेल गर्नेदेखि लिएर विभिन्न आवश्यकीय वस्तुहरुको किनमेलको भीड छ । खुशी, उत्साह र उमंगको साथ चाड मनाइरहेको सर्वसाधारण बताउँछन् ।
यतिबेला शहर रंगिन बनेको छ । सप्तरंगी रंगहरुको व्यापार छ । फूलका मालाहरु किनमेल भइरहेका छन् । घरघरमा फूलका मालाले सजिसजाउ गरिएका छन् । लक्ष्मी भित्राइएको छ । देउसी भैलो खेल्ने कार्यक्रमहरुपनि शुरु भएका छन् । पछिल्ला वर्षहरुमा तिहार अलि भड्किलो हुन थालेको सर्वसाधारणलाई नै अनुभुत हुन थालेको छ । दिदीबहिनी तथा दाजुभाइको माया प्रेमलाई जोड्ने यस पर्वले मान्छे र अन्य प्राणीसँगको सम्बन्धको बहुआयामिकतालाई पनि बोकेको छ । समयक्रम अनुसार चाडपर्व मनाउने शैली पनि फेरिदै गइरहेको छ ।
पुर्खाले मादल, मुरली लगायतका विशुद्ध नेपाली बाजाहरुको प्रयोग गरेर देउसी भैलो खेल्ने गरेका थिए । देउसी भैलोमा आम नेपालीहरुको दुख, पिडाका गितहरु गाइन्थे । नाचिन्थ्यो आफ्नै लोकलयमा । तर आजभोलि देउसीको रुप फेरिएको छ । युवापुस्ताहरु साउन्ड सिस्टममा गीत बजाएर नाच्छन् ।
देउसी भैलोमा गाउने गीत र लय युवाहरुले आफु अनुकुल बनाउन थालिसकेका छन् । यद्यपी तिहारको महत्व भने घटेको छैन । समय बदलिएपनि आफुभन्दा पछिल्लो पुस्तालाई देउसी भैलोको संस्कृति स्थानान्तरण गर्नुपर्ने र संस्कृतिको रक्षा गर्नुपर्ने आवश्यकता छ ।
सर्वसाधारण बजार तिहारमय भएको छ । कोही बेच्न आएका छन् भने कोही कीन्न आएका छन् । फूलको व्यापार बढ्दो छ । मालाको व्यापार बढ्दो छ र रंगिन बनिरहेको छ शहर बजार र दिनहरु । सबैजना तिहारलाई भव्यतासाथ मनाउने तयारीमा जुटीरहेका छन्, खुशी खुशी साथ ।
तिहारमा पटाका लगायतका बारुदजन्य बस्तुहरु पड्काउने होडबाजी नै चल्छ । धुम्रपान, मध्यपानको सेवन, जुवा तासको प्रयोग पनि उत्तिकै हुनेगर्छ । तर चाडपर्वलाई रमाइलो बनाउने होडबाजीको रुपमा अपनाउने यस्तो क्रियाकलापलाई भने सबैले रोक्नैपर्छ । परापूर्वक कालदेखि चलिआएको देउसी भैलो संस्कृतिलाई जोगाउँदै, दिदीबहिनी दाजुभाईबीचको प्रेमलाई अझ मजबुद बनाउँदै चाडपर्वका विकृती, विसंगतीरहित ै हर्षोल्लासका साथ तिहार मनाऔँ ।
प्रतिक्रिया दिनुहोस्