काठमाडौं, १३ कात्तिक । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते हुनुभएको छ । खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि थापाले वीचैमा खेल छाड्नुभएको हो ।
राप्रपा अध्यक्ष थापा टेनिसका राम्रो खेलाडी हुनुहुन्छ । चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट–२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ पुगेका थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६–० र ६–० मा पराजित गरेका थिए । थापाले नेपाल भ्रमण बर्ष–२०२० लेखिएको जर्सी लगाएर खेलेका थिए । पहिलो खेलमा जीत हात पारेका थापाले अर्को खेलमा भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३–० ले जितेका थिए ।
तर, दोस्रो सेटमा जितिरहेको अवस्थामा थापाको मांसपेशीमा समस्या देखिएको थियो । घाइते भएपछि वीचैमा उनले खेल छाडेको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो। थापाको पिँडुला र तिघ्राको मांसपेशीमा एकैसाथ गम्भीर समस्या भएकाले जितिरहेको खेल बीचैमा छाड्नु परेको बर्तौलाले बताउनुभयो । पिँडुलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छाडिदिएको उहाँले बताउनुभयो।श्रीमती प्रलिता थापासहित चीन जानुभएका थापा कात्तिक १४ गते स्वदेश र्फकने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्