कास्की, १४ कात्तिक । कास्की क्षेत्र नम्बर २ को उपचुनावका लागि नेकपा गण्डकी प्रदेश कमिटीले ३ जनाको नाम सिफारिस गरिएको छ ।
गएको शुक्रबार मात्रै नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीले विद्या भट्टराईलाई मात्र एकल उम्मेदवार सिफारिस गरिएको थियो । तर पछि केन्द्रले ३ जनाको नाम मागेपछि प्रदेश कमिटीले विद्या भट्टराईसँगै सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ को नाम पनि सिफारिस गरिएको हो । केन्द्रबाट नै ३ जनाको नाम मागेपछि वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट गुरुङलाई सिफारिस गरिएको नेकपाका गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिनुभयो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि आउँदो मंसिर १४ गते उपचुनाव हुन लागेको हो ।प्यासी नेकपाका पुराना वामपन्थी नेता हुनुहुन्छ भने करण विगत २०७४ को निर्वाचन कास्की २ ख बाट प्रदेशसभामा झिनो मतले पराजित हुनुभएको थियो । करण नेकपा कास्की इन्चार्ज समेत हुनुहुन्छ । प्यासी यसअघिको चुनावमा नेकपाबाट समानुपातिक उम्मेदवारको सूचीमा हुनुहुन्थ्यो ।
कास्की २ मा ७१ हजार आठ सय ७१ मतदाताले मतदान गर्न पाउने उपचुनावका लागि साझा पार्टीले पोखराकी रजनी केसीलाई उम्मेदवार घोषणा गरिसकेको छ । कांग्रेसले भने यसअघि नै १६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्