काठमाडौं, १७ कात्तिक । दोलखाको मागेदेउरालीबाट काठमाडौँ आइरहेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ । नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्धार भइरहेको छ।
कम्तीमा १० जना घाइतेको उपचारका लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । बसमा ३५ देखि ४० जना रहेको अनुमान गरिएको छ । १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ। दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भने भइनसकेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्