काठमाडौं, १८ कात्तिक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने तीमध्ये १४ जनाको परिचय खुलेकोे छ । दुर्घटनामा ५० जना घाइते भएका छन् ।
ज्यान गुमाउनेहरुमा दोलखाको शैलुङ गाउँपालिका –५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ–४ की ६ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिने शिशु रोशन तामाङ, शैलुङ–३ की २७ वर्षीया चमेली श्रेष्ठ, शैलुङ–५ की ४५ वर्षीया रत्न कुमारी राउत, भिमेश्वर नगरपालिका–९ की २४ वर्षीया रन्जिता के.सी. बस्नेत, त्रिपुरासुन्दरी –४ की ६ वर्षीया साया श्रेष्ठ रहेका छन् ।
त्यस्तै शैलुङ–५ का २९ वर्षीय किरण राउत, शैलुङ–५ कै २० वर्षीया कविता राउत, शैलुङ(५ कै १४ वर्षीय निखिल खड्का, शैलुङ–४ का १४ वर्षीय दिल लामा शैलुङ–३ की ३२ वर्षीया निर्मला खड्का, काभ्रेको रोशि गाउँपालिका–४ की ५ वर्षीया सजिना तामाङ् र दोलखाकी ७० वर्षीया उरमाया मोक्तान रहेको प्रहरी कार्यालय बलेफीले जानकारी दिएको छ । अरु शवको पहिचान गर्ने काम भैरहेको छ ।
दोलखाबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो । उहाँका अनुसार दुर्घटनास्थल सडकका हिसाबले जोखिमयुक्त नभएकाले दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रुको चापका कारण दुर्घटना भएको आशंका छ ।
प्रतिक्रिया दिनुहोस्