काठमाडौं २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराले यौनकाण्डबारे मुख्य नेतृत्वलाई समेत ढाँटेर गम्भीर गल्ती गरेको बताउनु भएको छ।
बुधबार दाङमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो ‘ महराको यौनकाण्डबारे हल्ला चलेपछि मैले नारायणकाजी श्रेष्ठ र जोखबहादुर महरालाई बुझ्न पठाएको थिएँ । दुवैजनालाई महराले ढाट्नु भयो । पछि म आफैं जाँदा पनि सबै कुरा बतान तयार हुनुको सट्टा ढाँट्नुभयो । प्रधानमन्त्रीलाई समेत ढाँट्नु भयो । त्यो महराको राजनीतिक र नैतिक रुपले सबैभन्दा ठूलो गल्ती हो ।‘
महराको गल्तीका बारेमा अदालतको विषय भएको हुनाले मुख्य नेताहरूले विवाद वा बहस गरिरहनु भन्दा पनि त्यस्ता अनैतिक घटना बाट पाठ सिक्नु पर्ने बताउनु भयो ।
महराको गल्ती वा अपराधा बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यस विषयमा महरालेसहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा रहेका छन् । यस अघि उनी २८ दिन प्रहरी हिरासतमा रहेका थिए । महराकाण्डबारे पार्टी अध्यक्ष प्रचण्डले महराकै निर्वाचन क्षेत्र रहेको दाङमा गएर पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिनुभएको हो ।
सोही अन्तरक्रियामा कतिपय मिडियाले आफूले नेपागन्जमा बोल्दै नबोलेको कुरालाई प्रचण्डको संकेत जस्तो भाषा प्रयोग गरेर आफू र प्रधानमन्त्री ओली बीच फाटो पार्ने कुचेष्टा गरेको प्रति समेत आपत्ति प्रकट गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्