काठमाडौं, ३० कात्तिक । आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन् । आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् ।
अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् । ‘उहाँहरू अहिले बिदामा काठमाडौं जानुभएको छ,’ अदालतका एक अधिकारीले भने, ‘आदेश दिएपछि यहाँ बस्ने परिवेश छैन ।’ आफ्नै चुनाव प्रचारमा जुटेका र आलमका लागि बनिरहेको बम विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले सरुवा मागेको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए । मुद्दा नचलाउन न्यायाधिवक्ता कटवालमाथि र आलमलाई साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि दबाब परेको थियो । आलमको पक्षमा आदेश नआए जेसुकै हुन सक्ने सन्देश पनि उनीहरूले पठाएका थिए । आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन् । स्रोतका अनुसार उनीहरूको सरुवाबारे छलफल अघि बढिसकेको छ ।
आलमलाई जिल्लामा राख्नसमेत जोखिम भएकाले नख्खु कारागार चलान गरिएको छ । उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो । सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोरा अदालतको आदेशमा उल्लेख छ । नयाँपत्रीका बाट
प्रतिक्रिया दिनुहोस्