काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वमन्त्री विजय गच्छदारसँग बयान लिएको छ ।
बालुवाटारको जग्गा प्रकरणमा आयोगले गच्छदारसँग गोप्य रुपमा बयान लिएको हो ।
भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने क्रममा गच्छदार बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका हुन् ।
बालुवाटार जग्गा प्रकरणमा आफूमाथिको आरोपलाई गच्छदारले सिधै इन्कार गरिदिएका छन् । प्रधानमन्त्रीको निवास विस्तारका क्रममा आफूले लगेको सैद्धान्तिक प्रस्तावमा बद्नियत नभएको उनले बयानमा भनेका छन् ।
विवादास्पद निर्णय हुनुअघि गच्छदारले समेत प्रस्तावमा केही निर्णय गरेका कारण अख्तियाले बोलाएको थियो ।
अब केही दिनमै ललिता निवासको जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा लैजाने निर्णय हुनेछ । गच्छदारको बरेमा मुद्दा चल्ने वा नचल्ने भन्नेबारे केही टुंगो लागेको छैन ।
०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं।३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयलाई मुख्य रुपमा उठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्