सिरहा ४ पुस । शीतलहर सुरु भएसँगै अत्यधिक चिसो बढेको छ । सर्वसाधरण तथा मजदुरहरुको जनजीवन प्रभावित भएको भन्दै जिल्ला प्रहरी कार्यलय सिरहाले ठाउँ ठाउँमा आगो बाल्न सुरु गरेको हो । घरबाट निश्किए पछि चिसोबाट जोगिन चोकहरूमा आगो ताप्ने वातावरण मिलाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चाडो धेरै बढेकोले ठाउँ ठाउँमा दाउरा बाल्ने काम गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी उमा प्रसाद चतुर्बेदीले बताए । अत्याधिक जाडो बढेको कारण सर्वसाधरण यात्रुहरुलाई केहि सहज होस भनेर आगो बाल्ने काम गरेको उनको भनाई थियो । जाडो समय अबधि भर ठाउँ ठाउँमा ठुला ठुला मुडा बाल्ने प्रहरीले बताएको छ ।
जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हुस्सु, शीतलहर र कुहिरोले ढाकेको जनाएको छ । शुत्रबार बिहान ११ बजे सिरहाको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।जाडो बढे सँगै प्रहरीले सिरहाको मुख्य चौक , गाउँ(गाउँमा, सिरहा जिल्ला भरीको टेम्पु स्टेण्ट र अन्य सर्वसाधरणहरु भेला हुने ठाउँमा आलो बालिएको एसपी चतुर्बेदीले बताए ।
सडक पेटी तथा विभिन्न धर्मशालामा अव्यवस्थित रूपमा रात बिताउनेको झन् बिजोग छ । न्यानो लुगा नभएका विपन्न परिवारका सदस्यहरू दैनिक काममा जान सकिरहेका छैनन् । पसल तथा उद्योगधन्धा, कलकारखानामा काम गर्ने मजदुर प्रभावित छन् ।
चिसोका कारण बजार पनि ढिलो खुल्न थालेका छन् । व्यापारीहरूले पनि पसल ढिलो खोल्छन छिट्टै बन्द गर्छन् । हाडजोर्नी, रुघाखोकी र दमका बिरामीको संख्या बढेको स्वास्थ्य संस्थाहरुले बताएका छन । जाडोले बढी प्रभावित हुनेमा मुसहर, डोम र चमारलगायतका दलित बस्ती छन् ।
प्रतिक्रिया दिनुहोस्