काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा उद्धार तथा पुनःप्रवेशको प्रयास तीव्र पारिएको छ । ६० मेगावाट क्षमताको उक्त जलविद्युत् केन्द्रमा आइतबार रातभर उद्धार कार्य निरन्तर सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सोमबार बिहान करिब ३ बजे टनेलको माथिल्लो भागमा विस्फोट गरी अवरोध हटाउने प्रयास गरिएको थियो । त्यसपछि केवल टनेलभित्र पानी भरिएको पाइएको र अहिले पम्प प्रयोग गरी पानी बाहिर निकाल्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
पानी निकासलाई प्रभावकारी बनाउन ठूलो क्षमताका डिजेल जेनेरेटर र पम्प सेटलगायत आवश्यक उपकरण घटनास्थलमा पुर्याइएको छ । टनेलको मुखतर्फ थुप्रिएका ढुंगा, माटो तथा गेग्रान हटाएर भित्र प्रवेश गर्न सकिने मार्ग बनाउने काम पनि भइरहेको छ ।
प्राधिकरणका अनुसार टनेलभित्रको वास्तविक अवस्था पहिचान गरी सुरक्षित रूपमा प्रवेश गर्न सकिने मार्ग तयार गर्ने, पानी निकास गर्ने तथा उपलब्ध सबै प्राविधिक विकल्पको अध्ययन गरेर उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ ।
भदौ १० गते आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’को टनेलमा ४२ जना फसेको अनुमान गरिएको छ । उनीहरूको अवस्थाबारे यकिन जानकारी लिन उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्