काठमाडौं । नेपालले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुआत गरेको छ। सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। मलेसियाको बाङ्गीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि अर्जुन कुमाल ३६ रनमा अविजित रहे। यस्तै, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन बनाए। बहराइनका इमरान जाबेद अन्वरले नेपालका दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। बहराइनका लागि फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले १० ओभरमा चार मेडन राख्दै १४ रन खर्चिए। ललितनारायण राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ। नेपालले अब बिहीबार आयोजक मलेसियासँग समूह चरणको दोस्रो खेल खेल्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्