काठमाडौ, १७ माघ । कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संकटकाल घोषणा गरेको छ । चीनबाट सुरु भएको कोरोनाभाइरस २० देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो । यस अघि डब्लुएचओले विश्वका सबै मुलुकलाई सतर्कता अपनाउन अपिल गरेको थियो ।कोरोनाभाइरसबाट अहिलेसम्म २१३ जनाको निधन र नौ हजार आठ सय २१ जना संक्रमित भएका छन् । विश्वका विभिन्न देशमा १५ हजार बढी शंकास्पद विरामी पाइएको छ ।
इटालीले आफ्ना सबै उडान चीनमा बन्द गरेको छ । कोरोनाभाइरसले सार्सबाट भएका विरामीको रेकर्डलाई उछिनेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्। चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ । चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ। तर चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन।
विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताए। बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाहरका अनुसार अहिले ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको पाइएको छ। यसअघि डब्ल्यूएचओले विभिन्न सङ्क्रमणका घटनामा पाँच पटक विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्