पोखरा, ७ मंसिर । उमेर सात दशक पुग्यो तर पनि सकी नसकी उकाली ओराली गर्दै अहिले मतदाताको घरदैलोमा पुग्नुभएको छ वृद्ध उम्मेदवार शुक्रराज शर्मा ।
प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका शर्मा जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराउने १९ दल र तीन स्वतन्त्रका ९५ उम्मेदवारमध्येका सबैभन्दा पाका ७० वर्षीय हुनुहुन्छ ।
प्रत्यक्षतर्फबाट एकपटक निर्वाचित हुने उहाँको धोको पूरा गर्ने आशामा सम्भवतः उहाँ अन्तिमपटकको उम्मेदवार हुनुहुन्छ । लामो समयसम्म कास्की काँग्रेसको नेतृत्वमा रहेर पार्टीको संगठन विस्तारमा विशेष योगदान पु¥याउनुभएका शर्माको यो उम्मेदवारी तेस्रोपटक हो ।
निडर, त्यागी र प्रष्ट वक्ताका रुपमा परिचित शर्माले प्रजातन्त्रको पुनर्वहालीमा लाग्दा पटक–पटक जेल सजायसमेत बिताउनुभएको छ ।
शर्माले पार्टीलाई पु¥याएको योगदानको कदर गर्दै नेपाली काँग्रेसले २०५६ सालमा राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेपछि उहाँ एक कार्यकाल सांसद बन्नुभएको थियो ।
आफ्नो जन्मथलो क्षेत्र नं ३ हालको अन्नपूर्ण गाउँपालिका–५ सल्यान भए पनि अघिल्ला चुनावमा बसाइँ सरेको क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धा गर्दा उहाँले पटक–पटक हार व्यहोर्नु प¥योे ।
आफ्नै जन्मथलो क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका शर्मा यसपालि भने विजयी हुनेमा ढुक्क हुनुहुन्छ । उहाँको टक्कर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य जगतबहादुर सुनार विश्वकर्मासँग हुनेछ । घरदैलो कार्यक्रममा उहाँले नेपाली काँग्रेसले जितेमात्रै लोकतन्त्र संस्थागत हुने र आर्थिक समृद्धि तथा विकास हुने भएकाले काँग्रेसलाई जिताउन आग्रह गर्दै हिँड्नुभएको छ ।
प्रतिनिधिसभाको क्षेत्र नं ३ मा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा ८८ हजार ७१७ मतदाता रहेका छन् ।
सो क्षेत्रमा कास्कीको अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका तथा पोखरा–लेखनाथ महानगरपालिकाका वडा नं १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ पर्छन् ।
प्रतिक्रिया दिनुहोस्