काठमाडौं, ३ चैत । विशेष अदालतले ललिता निवास निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १ सय ७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ललिता निवास र यसले चर्चेको जग्गा व्यक्तिको नाममा दर्ता गर्न सहयोग गरेको अभियोगमा सोमबार विशेष अदालतमा हाजिर भएका पौडेललाई अध्यक्ष शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारुको इजलासले थुनामा पठाउने आदेश दिनुभएको हो । सरकारी तथा सार्वजनिक सम्पत्ति गैरकानूनी रुपमा आफ्नो वा अरुको नाममा दर्ता, भोग चलन गर्ने गराउने’ गरेको आयोगले पौडेलविरुद्ध अभियोग लगाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय र ३२ करोड १९ लाख २० हजार रुपैयाँ विगो माग दाबी समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्