काठमाडौं, ५ चैत । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गत मङ्गलबारदेखि अचानक उनीहरु बिरामी हुँदै र उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेर एकपछि अर्को गरी पाँचै जनाको मृत्यु भएको हो । एक्कासि बिरामी भएर भटाभट भएको उनीहरुको मृत्युले पूरै मनरा गाउँवासी आतङ्कित भएका छन् । उनीहरुको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।
मृत्यु हुने पाँचमा चार जना दलित र एक जना उच्च जातिका रहेका छन् तर उनीहरुको मृत्यु भने विषाक्त मदिरा सेवनबाट भएको वडाध्यक्ष चौधरीको जिकिर छ । उहाँका अनुसार उपचारमा संलग्न चिकित्सकले उनीहरुको मृत्यु मदिरा सेवनबाट भएको बताएका छन् । महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु मदिरा सेवनबाट नभई अर्कै कारणले भएको हुनसक्ने आशङ्का गर्नुभएको छ ।
वास्तविकता जे रहे पनि एउटै गाउँमा तीन दिनभित्र पाँच जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् भने डरले गर्दा सबै आआफ्नै घरमा सीमित हुन थालेको स्थानीयवासी रवीन्द्र भगतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्