काठमाडौं, ७ जेठ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।
वल्र्डमिटरका अनुसार नेपाली समयानुसार बुधबार साँज ७ बजेसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख १५ हजार ६७६ पुगेको छ । त्यसैगरी ३ लाख २५ हजार ५०९ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ३२ हजार ७३९ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका थिए । आज समाचार तयाँर पार्दासम्म थप ९५५ जनाको मृत्यु भएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४७६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख १० हजार ८४४ जनाको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा ९३ हजार ५६१ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १७ हजार ९८३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा १ हजार १३० जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्