रूपन्देही , ८ जेठ बिहीबार बिहान तिलोत्तमाको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय शिक्षकका परिवारले शव उठाउन सहमति नदिएपछि उनको शवको अन्तेष्टि हुन सकेको छैन ।
मृतकका परिवारले मृत्युको कारण कोरोना भनिएकोमा समेत आशंका प्रकट गरेका छ । क्रिमसन अस्पताल प्रशासन र चिकित्सकको लापरबाहीको छानबिनको माग गर्दै शव उठाउन सहमति दिएको छैन । मृतकका भाइले निष्पक्ष छानबिनको माग आफूहरुको रहेको जानकारी दिनुभयो । बिरामी एम्बुलेन्सबाट झरेर हिँड्दै अस्पताल छिरेको र अर्को दिन ढाडबाट पानी निकाल्ने क्रममा बेहोश बनाएपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको मृतका भाई बताउनुहुन्छ ।
उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएको समाचार आएका दिनदेखि चिकित्सकले दाजुको उपचार नगरेको र ‘उपचारै नगरिदिएका कारण दाईको मृत्यु भएको हो । यो लापरबाहीको छानबिन हुनुपर्छ,’ उहा भन्नुहुन्छ । जिल्लाको सुरक्षा स्रोतका अनुसार शव जलाउने स्थानको पनि टुंगो लागेको छैन । मृत्युको १२ घण्टा बिते पनि उनको शव अस्पतालकै आइसियू कक्षमै छ ।
स्थानीय प्रशासनले सुरक्षाकर्मीले शव अस्पतालबाट लैजाने र तिलोत्तमा नगरपालिका–३ स्थित मगरघाटमा व्यवस्थापन गर्ने तयारी गरेको थियो । तर, स्थानीयले विरोध गरेपछि अर्को स्थानको व्यवस्थापन हुन सकेको छैन । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिवारसँग छलफल भइरहेको र स्थानको समस्या नरहेको दावी गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्