काठमाडौं, १४ जेठ । बुधबार बारामा ८ जना कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिए। बाँकी संक्रमित भने भारतबाट आएका हुन्।
भारतबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५० पुगेको छ। बुधबार बिहानै बाग्लुङका ६, रौतहटका ३५, झापाका १७ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ। बुधबार दिउँसोसम्म मात्र ६७ जना संक्रमित थपिएका छन्। रौतहट, झापा र बाग्लुङका संक्रमित पनि भारतबाटै आएको खुलेको छ। उनीहरू सबै भारतबाट आएर जिल्लाका क्वारेन्टिनमा बसेका थिए।
प्रदेश १ मा संक्रमितको संख्या १०४ पुग्यो
झापाका थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यीसहित प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ।
बुधबार संक्रमण पुष्टि भएकाहरु झापाको कचनाकवल र बाह्रदशीका व्यक्ति भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ। यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् । झापामा संक्रमितको संख्या ५४ पुगेको छ । यो प्रदेश १ मा संक्रमित भेटिएका जिल्लामध्ये सबैभन्दा बढी हो । अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् । संक्रमितहरुको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखेर हेरचार गर्ने गरिएको छ । त्यहाँ राखिएकामध्ये २६ जना डिस्चार्ज गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्