काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गरिएको हो।
करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको दाबी प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्रीले सबै क्षेत्रका विज्ञबाट रायसुझाव माग गरेपछि विज्ञहरूले आफ्नो क्षेत्रका धारणा राखेका थिए । लकडाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न विज्ञहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
यसका साथै विज्ञ टोली बनाउनसमेत उनीहरूले सुझाव दिएका थिए। विज्ञले दिएको सुझावलाई प्रधानमन्त्रीले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउने प्रतिबद्धता गरेको छलफलमा सहभागीहरुले जनाएका छन् । जनतामा उत्प्रेरणा जगाउने कार्य राज्यले गर्नुपर्ने सल्लाह २५ जना विज्ञकै रहेको र फेरि पनि विज्ञसँग परामर्श लिने कार्यक्रम राख्ने प्रधानमन्त्रीले वचन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्