काठमाडौं २५ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले प्रवक्ता डाक्टर विकास देवकोटालाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतमलाई ल्याइएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु हुनु अघिदेखि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका देवकोटाले आज प्रत्यक्ष प्रसारणमार्फत आफू बिदा भएको स्पष्ट पार्नुभएको छ ।
कोभिड १९ बारे ताजा जानकारी दिन भएको प्रेस बिफ्रिङमा बिदा माग्दै गर्दा देवकोटा भावुक हुनुभयो । उहाँले आफूलाई भन्दा पनि अब प्रवक्ताको रुपमा आउनुभएका डाक्टर जागेश्वर गौतमलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म आफूलाई साथ र सहयोग गरेको भन्दै मन्त्रालयका कर्मचारी र मिडियाकर्मीलाई धन्यवाद दिनुभयो । डाक्टर देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । भोलिदेखि डाक्टर गौतमले कोभिड १९ को ताजा जानकारी गराउनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्