अछाम, २६ जेठ । जागिरबाट निकालिए पछी एक जनाले आत्म हत्याको प्रयास गरेका छन् । अछाम जिल्लाको बयलपाटा अस्पतालमा सरसफाईमा कार्यरत साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका शिदार्थ आउजीले बयलपाटा अस्पतालको गेट अगाडी सोमबार बिहान आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मा दहनको प्रयास गरेको जनाईएको छ ।
उनले शरिरमा पेट्रोल छर्केर आत्महत्या गर्न लागेको थाहा पाएपछी स्थानीयले उनलाई उद्धार गरेका छन् । अहिले उनको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगञ्ज लिन लागिएको छ । विगत बर्ष देखि बयलपाटा अस्पतालको सरसफाई कार्यमा कार्यरत आउजीलाई जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै आत्महत्याको प्रयास गरिएको बुझिएको छ । उनलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाईएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिनु भयो । आउजीका एक छोरा र एक छोरी रहेका छन् ।
उनी केहि हप्ता अगाडी अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारीमा काम गर्ने गरेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।
दुई महिना अगाडी नै अस्पतालले हटाएको चिठी दिएपछि सिदार्थ तनावमा रहेको बुझिएको छ । महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको बुझिन आएको छ । अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्