काठमाडौं, २ असार । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज र भोली हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ । नेपाली दूतावास आबुधाबीले सुचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।
अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नया उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ । तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।
दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन् । आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो । आफूहरु पालो कुर्न तयार रहेको तर खान–बस्न नै समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्