काठमाडौं, १८ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले कीर्तिमानी १३ औं जित दर्ता गरेको छ ।
लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएर प्रिमियर लिगमा लगातार १३ औं जित दर्ता गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । ४४ औं मिनेटमा एन्जेलो ओग्बोन्नाले हेड मार्फत गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाए ।
तर दोस्रो हाफमा पेप गार्डिवलाको टिमले राम्रो प्रदर्शन र्गयो । ५७ औं मिनेटमा निकोलस ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए । ८३ औं मिनेटमा डेविड सिल्भाले केविन डि ब्राउनको पासमा गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । यो जितसंगै सिटीले लिगमा एकै सिजन लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।
चेल्सीले गएको सिजन लगातार १३ खेल जित्दै बनाएको कीर्तिमानमा म्यानचेस्टर सिटीले बारबरी गरेको हो । यस्तै आर्सनलले पनि सन् २००१ र ०२ को सिजनमा लगातार १३ खेल जित्दै पहिले कीर्तिमान बनाएको थियो । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४३ अंक भएको छ र उसले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी फेरि ८ कायम गरेको छ । अन्तिमबाट दोस्रो स्थानमा रहेको वेष्ट ह्यामको १० अंक मात्रै छ । राति नै भएको खेलमा बोर्नमाउथ र साउथह्याम्पटनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया दिनुहोस्