काठमाडौं, २० असोज । घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो) रूपेश सदा भेटिएपछि उनले सालोलाई माछा मार्न लगेर गए ।
लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्योग परिसरको खाल्डोमा पानी जमेको थियो । रूपेशलाई डिलमा राखेर उनी खाल्डोको पानीमा बल्छी थाप्न थाले । गरै (सानो माछा) ४–५ वटा झिकेपछि रूपेशलाई समाउन दिए । रूपेशले ‘यो माछा घर लान्छु’ भन्दै जिद्दी गर्न थाले ।
जब २२ वर्षीय रामबहादुरले रूपेशलाई माछा दिँदै एउटा प्रस्ताव राखे । उनको प्रस्ताव सुनेर अबोधले कुनै प्रतिक्रिया जनाएनन् ।
अचानक रामबहादुरले च्याप्प समाएर खेतमा उतानो पारेर पछारे । रूपेशको अनुहार खेतको आलीमा धस्रियो । जबर्जस्ती गर्न खोज्दा उनको मलद्वार च्यातियो । बेहोस भए । निर्ममतापूर्वक करणी गरेपछि रामबहादुरले नाडी छामे । कुनै संकेत नपाएपछि रूपेशले नै लगाएको कन्दनी फुकाले, त्यसैले घाँटी कसेर हत्या गरेको प्रहरीको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अप्राकृतिक मैथुनको यो घटना धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा भएको हो ।
प्रहरीका अनुसार सालोलाई जबर्जस्ती करणीपछि हत्या गरेर पातपतिंगरले छोपेर रामबहादुर ससुराली घर फर्किए । दिउँसै खेल्न हिँडेका रूपेश साँझ अबेरसम्म नफर्किएपछि घरमा हल्लीखल्ली मच्चियो । छोरा खोज्दै हिँडेका रामेश्वर सदासँगै रामबहादुर पनि निस्किए । खोजी टोलीमा गाउँले पनि मिसिए । मध्यरातसम्म खोज्दा पनि रूपेश भेटिएनन् ।
बिहान फेरि खोज्ने भन्दै गाउँलेहरू आ–आफ्नो घर फर्किए । तर रामबहादुर निदाउन सकेनन् । रातभर छटपटिइरहे । बिहानै ३ बजे उनी पुनः घटनास्थल पुगे । उनी त्यहाँबाट शव गायब पार्ने प्रयासमा थिए । तर, एक जना गाउँलेले हलचल भइरहेको चाल पाएपछि ‘को हो’ भन्दै नजिकै गए । रामबहादुर झाडीमा लुके । शौच गर्न आएको होला भन्ठानेर गाउँले फर्किए ।
शुक्रबार बिहानैदेखि गाउँले फेरि रूपेशको खोजीमा जुटे । रामबहादुर पनि टोलीमा मिसिए । माछा मार्न पुगेका दुई बालकले बिहान ११ बजेतिर रूपेशको शव फेला पारे । शंका लागेपछि रामबहादुरलाई गाउँलेले नियन्त्रणमा राखे र प्रहरीलाई खबर गरेका थिए ।
रूपेशको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । उनको मलद्वार सुन्निएको र च्यातिएको छ । घाँटीमा गहिरो डाम छ । पक्राउ परेका रामबहादुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपेर हिरासतमा राखिएको छ । धनुषाकै सबैला नगरपालिका–७ भठिहनका रामबहादुरले दुई वर्षअघि धनुषाधाम–७ किसानपुरमा विवाह गरेका थिए । बिहे भएको अर्को वर्ष उनी मजदुरीका लागि भारतको मद्रास पुगेका थिए । ६ महिनामै फर्किए । त्यसयता ससुरालीमा बसेका थिए । उनकी श्रीमती ७ महिनाकी गर्भवती छिन् ।
प्रतिक्रिया दिनुहोस्