ताप्लेजुङ ८ मंसिर, । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगति हेरेर तर्सिएका केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको बताउनुभएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा पुग्नु भएका ओलीले स्थानीयलाई सम्बोधन गर्दै भन्नुभयो , ‘सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर आत्तिएका छन् ।’
सरकार नढल्ने प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बढ्छ भनेर उनीहरु आत्तिएको दाबी गर्नुभयो । ओलीले थपे ‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’
प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान नदिने समेत बताउनुभयो । पूर्व क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गर्नुभयो भने घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ समेत प्रदान गर्नुभयो । उहाले रकमबाट प्रत्येकवर्ष १० जनालाई छात्रवृत्ति प्रदान गर्न विद्यालयलाई आग्रह पनि गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्