काठमाडौं, ६ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पनि भोलि, मंगलबार केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ । केन्द्रीय कार्यालयबाट केहीबेर अघि सबै केन्द्रीय सदस्यहरूलाई मेसेज पठाइएको छ।
बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी सबै केन्द्रीय सदस्यहरूलाई सूचना पठाइएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि मंगलबार नै केन्द्रीय समिति बैठक बोलाएको छ । प्रचण्ड नेपाल समूहले दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक राखेका छन् भने उक्त बैठक बस्नु अघि नै बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक राख्नु भएको छ । आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षसमेत रहेका ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको थियो। तर ओली पक्षले भने त्यो विधानअनुसार स्थायी कमिटी बैठक नभएको बताउँदै आएको छ। ओली र प्रचण्ड- नेपाल पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्न केन्द्रीय समिति बैठक डाकेको स्रोतको दाबी छ।
प्रतिक्रिया दिनुहोस्