काठमाडौं । नौ दिनदेखि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कविर महर्जन जीवितै उद्धार भएको खबर सुनेपछि उनका भाइ अमिर महर्जनलाई एकछिन पनि घरमा बस्न मन लागेन । दाइ जीवितै भेटिएको खुसीमा उनी तत्काल अस्पतालतर्फ दौडिए ।
भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीपछि सुरुङभित्र सम्पर्कविहीन भएका कविरलाई शुक्रबार बिहान नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले जीवितै बाहिर निकालेको हो । उद्धारपछि उनलाई उपचारका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको अवस्था जटिल रहेकाले सघन उपचार भइरहेको छ ।
दाइको उद्धारको खबर सुनेपछि अमिरको खुसीको सीमा नै रहेन ।
‘म अहिले खुसीको बयान नै गर्न सक्दिनँ । जिन्दगीमा यति खुसी हुने दिन पनि आउँदो रहेछ,’ उनले भने ।
नौ दिनसम्म परिवारले कविरको सकुशल उद्धार हुने आशा भने मारेको थिएन । लामो समयसम्म कुनै सम्पर्क नहुँदा मनमा अनेक आशंका पैदा भए पनि परिवारले सकारात्मक सोच्न छाडेको थिएन ।
‘सकारात्मक सोच्नुपर्छ भनेर विश्वास मारेका त थिएनौं,’ अमिरले भने, ‘तर कुन लेभलको कुरा विश्वास गर्ने भन्ने हुन्छ नि ।’
शुक्रबार बिहान परिवारले लामो समयदेखि प्रतीक्षा गरिरहेको खबर आयो—कविर सुरुङभित्रै जीवित भेटिए ।
त्यसपछि परिवारको निराशा एकाएक खुसीमा बदलियो । घरमा रहेका आमाबुबा पनि छोराको जीवितै उद्धार भएको खबरले निकै खुसी भएको अमिरले बताए ।
‘आमाबुबा घरमा हुनुहुन्छ । उहाँहरू पनि निकै खुसी हुनुहुन्छ,’ उनले भने ।
तर अमिरलाई खुसी मनाउनेभन्दा पनि अहिले दाइलाई भेट्ने हतार छ । दाइ अस्पतालमा उपचाररत रहेको खबर पाएपछि उनी अस्पतालतर्फ दौडिएका छन् ।
सञ्जयको उद्धारले बढाएको आशा
कविरसँगै सुरुङभित्र फसेका सप्तरीका ३१ वर्षीय सञ्जयकुमार साहको पनि शुक्रबार नै जीवितै उद्धार भएको थियो ।
भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका सञ्जय नौ दिनपछि सुरुङभित्र जीवित भेटिएपछि उनको परिवारमा पनि खुसी छाएको छ । दश दिनदेखि रुवाबासी र चिन्तामा रहेका परिवारजनले अब सुरुङभित्र सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरू पनि सकुशल भेटिने आशा गरेका छन् ।
सञ्जयकी बहिनी सुधाले दाइ जीवितै भेटिएपछि अन्य सम्पर्कविहीन परिवारमा समेत आशा जागेको बताइन् ।
‘मेरो दाइ जस्तै सुरक्षित रूपमा अरू सम्पर्कविहीनहरू पनि भेटिऊन् भन्ने भगवान्सँग प्रार्थना गर्छु,’ उनले भनिन् ।
सञ्जयका काका कुशेश्वर साहले पनि भगवानमाथि विश्वास र आशा राखेर अन्य सम्पर्कविहीनलाई पनि सकुशल घर फर्काउन प्रार्थना गरिरहेको बताए ।
सुरुङभित्र अझै उद्धारको प्रतीक्षा
भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिक र उद्धार विज्ञहरूको टोली परिचालन गरिएको छ ।
शुक्रबार दुईजनालाई जीवितै उद्धार गरिएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य पनि तीव्र पारिएको छ ।
नौ दिनसम्म सुरुङभित्र रहेका सञ्जय र कविर जीवितै भेटिनुले उद्धारकर्मी मात्र होइन, सुरुङभित्र रहेका आफ्ना आफन्तको प्रतीक्षामा रहेका परिवारजनमा पनि नयाँ आशा जगाएको छ ।
एउटा परिवारमा फर्किएको खुसी अब सुरुङभित्र सम्पर्कविहीन रहेका सबै परिवारको आशामा बदलिएको छ—‘अरू पनि सकुशल भेटिऊन् ।’
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्