काठमाडौं, १६ पुस । आज ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । जननायक बीपी कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर भारतबाट स्वेदश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आव विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउदै छ । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ सम्बन्धी भर्चुअल कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टीका संस्थापक नेता बीपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४४ बर्ष पूरा भएको छ । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किनुभएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल चलान गरिएको थियो । त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । तर भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता बरु नेपालमा राजास“गै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए । तर विमानस्थलबाटै कांग्रेस नेताहलाई पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो । दलहरुले गरेको गठबन्धन पनि देशभित्रका समस्या समाधानका लागि देशभित्रबाटै समाधान गर्नुपर्ने र सवैले आ आफ्ना अडानबाट लचिलो हुनुपर्ने सन्देशसहितको मेलमिलापको नीति उत्तिकै सान्दर्भिक भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्