काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने कुरा दोहोऱ्याउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वसुलभ रुपमा उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भन्नुभयो, ‘कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन । यो खोप सबैको पहुँचमा हुनुपर्छ । गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ ।’
कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकलाई प्राथमिकताका आधारमा कोरोना खोप नि शुल्क उपलब्ध गराइने पनि बताउनुभयो । ‘सक्ने देशहरुले नसक्नेहरुलाई निस्शुल्क रुपमा कोरोना खोप उपलब्ध गराएर सिंगो मानव जातिको कल्याण गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य संवेदनशीलताको आधारमा खोप लगाइँदै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उनले खोप अभियान र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीलगायतलाई पनि धन्यवाद दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्