काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैसँग घुँडा नटेकी नेपालको स्वाभिमानलाई माथि उठाइने बताउनुभयो ।
‘म आग्रह गर्न चाहन्छु तपाईंहरूले धोका पाउनुहुन्न। तपाईंहरूको अगुवाइ, देशको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हितको रक्षा, देशको स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, देशको भूगोलको रक्षा अहिलेको पार्टी, नेतृत्व र सरकारले गर्नेछ,’ उहाँले भन्नुभयो , ‘त्यसको अगुवाइ मैले गर्नेछु, ढुक्क हुनुहोस्।’ उहाँले आगामी वैशाखमा निर्वाचन भएरै छाड्ने दाबी समेत गर्नुभयो । ‘कतिपयले भ्रम फिँजाएका छन् यो चुनावको घोषणा चुनाव गराउनका लागि होइन, अल्मल्याउनका लागि हो भनेर। तिनीहरू अल्मलिँदै गरून्, चुनाव हुन्छ घोषणा गरिएकै मितिमा’, उहाँले भन्नुभयो ‘अब कुनै गल्ती नगरिकन देशका निम्ति काम गर्ने, विदेशीसँग साइनो नभएका त्यस्ता व्यक्तिहरूलाई छानेर पठाउनुपर्छ। नाबी गएर विदेशमा गाडिएकाहरूलाई अब छान्न हुँदैन।’ उहाँले गफ प्रेमीलाई नभई विकास प्रेमीलाई जिताएर पठाउन आग्रह समते गर्नुभयो । ‘संघीय सरकारको बजेटमा बनेको योजनाको शिलान्यास गर्न म यहाँ आएको हुँ,’ उहाँले भन्नुभो , ‘कसैको विरोधले विकास रोकिँदैन।’ उहाँले केही वर्षभित्रै जनताले अनुभूति गर्नेगरी देश विकास हुने समेत दावी गर्नुभयो । आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाले कोभिडलाई परास्त गर्दै देश विकासशील राष्ट्र बन्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्