काठमाडौँ, १८ माघ । प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड -नेपाल समूह आज दुई अध्यक्षसहित माइतीघरमण्डलामा धर्नामा बस्दैछ । प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित प्रचण्ड- नेपाल समूहले काठमाडौँमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को तयारी गरेको छ । कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैहुनुहुन्छ । चार दिनदेखि केही नेताहरू धर्नामा रहे पनि कार्यकर्ताको ध्यान केन्द्रित गर्न दुई अध्यक्ष दाहाल र नेपाल आज धर्नामा सहभागी हुने नेता बिष्णु रिजालले बताउनुभयो ।
धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुनेछन् । प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्र एक देखिएका नेकपाका दुबै समूहले एक अर्कालाई कारबाही गर्दै अघि बढेका छन् । आफू बैधानिक भएको दाबी गर्दै दुबै समूहले शक्ति प्रदर्शन गर्दै आएका छन् । प्रचण्ड नेपाल समूहले पुस १४ र माघ ९ मा काठमाडौँमा, माघ १६ मा विराटनगरमा तथा माघ १७मा धनगढीमा जनप्रदर्शन गरेको छ । ओली समूहले पनि वैशाख १७ र २७ हुने आमचुनावमा सहभागी हुन अपिल गर्दै पुस २४ मा धनगढीमा, माघ १७ मा चितवनमा प्रदर्शन गरेको छ । यो समूहले माघ २१ मा काठमाडौँमा ‘वृहत प्रदर्शन’ को तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्