काठमाडौं, २० माघ । बृहत् नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको उभार ल्याइने बताउनुभयो । उहाँले फागुन ७ गते काँडेतार हटाएर भए पनि टुँडिखेल पुगेर नागरिक घोषणापत्र सार्वजनिक गरी जनआन्दोलनको उभार ल्याइने बताउनुभएको हो । ‘पहिले पनि प्रतिगमनविरूद्ध टुँडिखेलमा नागरिक आन्दोलनको घोषणा भएको थियो, म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ,’ वाग्लेले मंगलबार शोभा भगवतीको नागरिक आन्दोलनमा उहाँले भन्नुभयो, ‘त्यही सभामा बृहत् नागरिक आन्दोलनको घोषणा पत्र हामी सार्वजनिक गर्दछौं। र, नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं।’
उहाले २००७ सालपछिको इतिहास व्याख्या गर्दै शासकहरूले गलत रवैया देखाएको र गलत काम गरेको भन्दै त्यसको एकएक हिसाब टुँडिखेलबाट मागिने समेत बताउनुभयो । ‘टुँडिखेलमा भेला भएर पहिलो बृहत् नागरिक भेलाले ७० वर्षदेखिको एक(एक हिसाब माग्नुपर्ने भएको छ,’ वाग्लेले भन्नुभयो , ‘शासकहरू, हिजो सिंहदरबार कसले बनायो ? त्यो माटो केले बनेको थियो? सिंहदरबारको नेपाली जनताको गाँस, बास, चामल र मास घर-घरबाट खोसेर ल्याएर बनाएको हो।’ त्यसरी सिंहदरबार बनाउँदा छ महिनासम्म पहाडमा र भक्तपुर-काठमाडौंमा अनिकाल परेको उहाले भन्नुभयो । ‘हाम्रा बच्चाहरू कुपोषणको सिकार भए। त्यो सिंहदरबार, त्यहाँका शासकहरू आज के भए ? शासकहरू कसरी सेवक हुन्छन् भनेर सोचेको फेरि शोषक कसरी भए भन्नुपर्ने अवस्था आयो,’ वाग्लेले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बृहत् नागरिक आन्दोलन सुरू भएको हो।
प्रतिक्रिया दिनुहोस्