काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवार ९भोलि० देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बताउनुभयो।
बुधवार (आज) केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा संघर्ष समितिकी सहसंयोजक भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताउनुभयो ।
यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिनुभयो । त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने भुसालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्