काठमाडौं, २३ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले लाखौंलाई रोजगारी दिन सफल भए पनि सरकारले सुनचाँदी व्यवसायीलाई गलत नजरले हेर्ने गरेको बताउनुभएको छ । आज वीरगञ्जमा पर्सा सुनचाँदी व्यवसायी संघको छैटौं साधारणसभा र तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले लाखौं युवालाई रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्न योगदान गरे पनि सुनचाँदी व्यवसायलाई हेर्ने सरकारी नजर परिवर्तन हुन नसकेको बताउनुभयो । सुनचाँदी व्यवसायीहरुलाई तस्करको नजरले हेर्ने गरेको उहाँको गुनासो छ ।
अध्यक्ष शाक्यले सरकारले देशभरिका सुनचाँदी व्यसायीहरुलाई सरकारले बिक्री गर्दै आएको १० केजी सुनले नपुगेको भएको कारण प्रतिदिन २० देखि २५ केजी सुन सरकारले दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पर्सा सुनचादी व्यवसायी संघका प्रेस सल्लाहकार शेखर छतकुलीलाई सम्मान गरिएको थियो । साधारणसभाको अवसर पारेर पर्सा सुनचाँदी व्यवसायी संघले एबीसी टेलिभिजनका पर्सा संवाददातासमेत रहेका छतकुलीलाई सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्