काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदै हुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।नेकपा प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानु भएको थिएन । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जाने उहाको सचिवालयले जनाएको छ । नेकपाका दुवै समुहका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नुहुनेछ । साथै उहाँले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गर्नुभएको छ । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गर्नुभएको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्डमाधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्