काठमाडौं, १९ फागुन । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कतासहित अहिले वार्ता भइरहेको स्रोतले जनाएको छ ।
वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको छ ।
दुवै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ ।
यो समूहले संसदीय व्यवस्थाको विकल्प र सङ्कट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार बनाउने एजेण्डा बोकेको छ ।यस्तै वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा जनमतसङ्ग्रह गर्नुपर्ने विप्लव समूहको माग रहेको छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्