काठमाडौं, ९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण काठमाडौंमा अहिले गाडीको आवागमन प्रभावित भएको छ । शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मका विभिन्न रुटमा गाडी डाइभर्सन गरिएको छ । राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ ।
ट्राफिक प्रहरीकाअनुसार शीतल निवास, महाराजगञ्ज, लैनचौर, सिनामंगल, रातोपुल, गौशाला लगायत क्षेत्रमा गाडीको आवागमन रोकिएको छ । उहाँको राजकीय भ्रमण भएकाले सवारी पर्ने रुटमा कुनै पनि गाडीलाई अहिले चल्न नदिइएको ट्राफिक प्रहरीले जनाएको छ । राष्ट्रपति भण्डारी सवार हुने सडकमा बाक्लो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रपति भण्डारी दुई दिने भ्रमणका लागि केहिबेरमा बङ्गलादेश जाँदै हुनुहुन्छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जान लाग्नुभएको हो । उहाँलाई ढाकामा बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ ।
प्रतिक्रिया दिनुहोस्