काठमाडौं । रसुवाको भोटेकोसी बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा भेटिएका ती शव सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाइएको हो।
भारतीय प्रहरीले मंगलबार साँझ पाँच र बुधबार अपराह्न चार शव नेपाल ल्याएको जनाएको छ। नेपाल ल्याइएका शवमध्ये एक बालिकासहित चार महिला र पाँच पुरुष रहेका छन्।
बेलहिया इलाका प्रहरी कार्यालयमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शवहरूलाई थप परीक्षण तथा व्यवस्थापनका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।
नारायणी किनारमा भेटिए शव
खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट शवहरू फेला परेका थिए।
उनका अनुसार उक्त स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको छ।
बुधबार नेपाल ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्ष उमेर समूहकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्ष उमेरका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्ष उमेरका युवक रहेका छन्।
डीएनएसहितका प्रमाण सुरक्षित
पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवहरूलाई सुरक्षित राखेर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो।
उनका अनुसार शवको पञ्चनामा तयार पारिनुका साथै गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो। पहिचान प्रक्रियामा सहयोग पुग्ने गरी शवबाट डीएनएसहितका प्रमाणसमेत सुरक्षित राखिएको उनले जानकारी दिए।
भोटेकोसी बाढीपछि ठूलो संख्यामा मानिस तथा शव बाढीले बगाएर भारततर्फ पुगेको आशंका गरिएको छ। नेपाल–भारत सीमापार नदी क्षेत्रमा भेटिएका शवहरू पहिचान गरी नेपाल ल्याउने प्रक्रिया जारी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्